बागमती प्रदेशसभा : भारतले नेपाली भूमि समेटेर बनाइएको नक्सामा ध्यानाकर्षण, संकल्प प्रस्ताव पारित

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशसभा : भारतले नेपाली भूमि समेटेर बनाइएको नक्सामा ध्यानाकर्षण, संकल्प प्रस्ताव पारित

हेटौंडा । बागमती प्रदेशसभाको बैठकले भारतको नवनिर्मित संसद् भवनमा नेपालको भूमि समेटेर बनाएको नक्सा राखिएको विषय मा गम्भीर ध्यानाकर्षण भएको भन्दै संकल्प प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकले नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले सदनमा पेस गरेको संकल्प प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । भारतको नयाँ संसद् भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा सार्वजनिक भएपछि नेकपा एमालेले प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएको थियो ।

एमाले सचेतक पौडेलले कहिलै कसैको अधिनमा नरहेको नेपालको भूमि समेटेर भारतले नक्सा प्रकाशन गर्दै संसद् भवनमा राखेकामा प्रदेशसभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै नक्सा सच्याउन नेपाल सरकारले कूटनीतिक माध्यमले तत्काल पहल गरोस् भनी संकल्प प्रस्ताव पेस गरेका थिए ।

एमालेमा प्रमुख सचेतक पौडेलले पेस गरेको संकल्प प्रस्तावलाई नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकाल, नेपाली कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्ले, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुमारी तामाङ र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले समर्थन गरेका थिए ।

Enter Kantipur TV HD
Advertisement