प्रधानमन्त्रीले आज प्रतिनिधसभा बैठकमा जवाफ दिने, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले आज प्रतिनिधसभा बैठकमा जवाफ दिने, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभा बैठक अपराह्न ४ बजे बस्दैछ ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा छलफल जारी छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमकाअनुसार नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि प्रधानमन्त्री दाहालले सांसदले उठाएका प्रश्नको जवाफ दिने छन् । प्रधानमन्त्रीले जवाफ दिएपछि सांसदहरुबाट प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यसपछि यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित हुनेछ ।

यसअघि शुक्रबारको बैठकमै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण लम्बिएको हो ।

पशुपतिमा लगाइएको जलहरीको विषयलाई लिएर मा‌ओवादी सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि संदीय मर्यादा नाघेको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध पारेका थिए ।

एमाले सांसद प्रतिवादमा उत्रिएपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि स्थगन गरेको बैठक दिनभर अवरुद्ध भएपछि आज अपराह्न ४ बजेसम्म स्थगित गरिएको थियो ।

दलहरुबीच संसद बैठक सञ्चालनका लागि छलफल भएपनि सहमति जुट्न सकेन । आजको बैठक बस्नु अघि सहमति जुट्ने नेताहरुले बताएका छन् । यद्यपि संसदको अवरोध जारी रहे आज पनि नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम प्रभावित हुने देखिएको छ । 

यो पनि...

एमालेद्वारा दिनभर प्रतिनिधिसभाको बैठक अवरुद्ध

महालेखाको प्रश्न : शिवलिंगको रिङमा लगाएको सुन खोई ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.