काठमाडौं । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै १२ जनालाई अनुशासनको कारबाही गरेको छ । कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्रीदेखि खोटाङका जिल्ला सभापतिसम्मका कारबाही गरेको हो ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको असार ९ देखि १५ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवारलाई हराउने भूमिका खेलेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टीबाट निस्कासित हुनेमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवम् गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का छन् ।
यस्तै पर्सा क्षेत्र नं १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता पनि निस्कासित भएका छन् । त्यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरू यादव र कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलगायतलाई ६ महिनाका लागि निस्कासन गरिएको छ ।
त्यसैगरी कास्की जिल्ला सभापति कृष्ण केसीलाई ३ महिना निलम्बन गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले बताउनुभयो ।