व्यापारिक र कूटनीतिक सम्बन्ध सुधार गर्न अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानीज चीन भ्रमणमा

असार २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
व्यापारिक र कूटनीतिक सम्बन्ध सुधार गर्न अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानीज चीन भ्रमणमा

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज यसै साता चीनको भ्रमणमा हुनुहुन्छ । यस भ्रमणलाई देशको सबैभन्दा ठूलो व्यापार साझेदार चीनसँग सम्बन्ध मजबुत पार्नु बुझिएकाे छ ।

बेइजिङ, साङ्घाई र चेङ्दु गरी तीन सहरको यो छ दिने भ्रमणमा उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसहित शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ । जहाँ व्यापार, क्षेत्रीय सुरक्षा र हरित ऊर्जा सहयोगका विषयहरू प्रमुख हुनेछन्। यो अल्बानीसीको पुनःनिर्वाचनपछि चीनको पहिलो भ्रमण हो।

अल्बानीजले भनेका छन् कि अष्ट्रेलियाले चीनसँग आवश्यक पर्दा असहमति जनाउने भए पनि, राष्ट्रिय हितमा संवाद जारी राख्नेछ। चीन अष्ट्रेलियाको कुल व्यापारको लगभग एक तिहाइ हिस्सा ओगट्ने मुलुक हो । र, दीर्घकालीन आर्थिक वृद्धि तथा रोजगारीका लागि सम्बन्ध सुधार अत्यावश्यक मानिन्छ। उहाँले अष्ट्रेलियाबाट गएको उच्चस्तरीय व्यापार प्रतिनिधिमण्डल पनि साथमा लग्नुभएकाे छ । जसमा प्रमुख बैंक र खानी कम्पनीका प्रतिनिधिहरू छन्।

यो भ्रमणलाई विश्लेषकहरूले परिपक्व र व्यावहारिक कूटनीतिका रूपमा लिएका छन् । जसको उद्देश्य दुई देशबीच दीर्घकालीन स्थिरता कायम गर्नु हो। यद्यपि 'अकस' पनडुब्बी सम्झौता, दक्षिण चीन सागरको विषय र जासुसी आरोपमा कारागारमा राखिएका अष्ट्रेलियाली लेखक याङ हेंगजुनजस्ता विवादास्पद मुद्दाहरूमा असहमति कायम नै रहनेछ। तर यी विषयहरूले दुई देशबीचको समग्र सम्बन्धमा ठूलो असर पार्ने छैन भन्ने विश्लेषकहरूको भनाइ छ।

नोभेम्बर २०२३ मा अल्बानीज सात वर्षपछि चीन भ्रमण गर्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री बन्नुभएकाे थियाे । जुन चिनियाँ प्रतिबन्ध र आपसी विवादका कारण लामो समयसम्म स्थगित भएको थियो। त्यसयता, उहाँको सरकार चीनसँग सम्बन्ध सामान्य बनाउँदै कडा व्यापार प्रतिबन्धहरू हटाउन सफल भएको छ।