एमालेद्वारा दिनभर प्रतिनिधिसभाको बैठक अवरुद्ध

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
एमालेद्वारा दिनभर प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौं । सत्तारुढ दलका सांसदको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा सुनको सट्टा पित्तलको जलाहारी चढाएर भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै अवरुद्ध बैठक भोलि ४ बजे सम्मका लागि स्थगित भएको हो । सभामुख देवराज घिमिरेले मध्यान्ह २० मिनेटका लागि स्थगन गरेपछि छलफलमा बसेका दलहरु सहमति पुग्न नसकेपछि वैठक वस्न नसकेको हो ।

जेठ १० गतेको संसद बैठकमा सत्तारुढ दल माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री ओलीलाई पशुपतिमा सुनको सट्टा पित्तलको जलाहारी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । एमाले सांसदहरुले उक्त विषयमा सरकारले छानबिन गर्नु पर्ने र सत्तापक्षका सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख घिमिरेले पटक–पटक संसदको प्रक्रिया अगाडि बढाउनका लागि सहयोग गर्न र विधिबाटै समाधान खोज्न आग्रह गरे पनि एमाले सांसदहरुले बैठक अवरोध जारी राखेका थिए । सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदबाटै समाधान खोज्नुपर्ने भन्दै विपक्षीको विरोध गरेका थिए ।

सभामुखले सत्तापक्षका सांसदलाई बोल्ने समय उपलब्ध गराएपछि एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकमा सदनमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने र आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.