आफैं सहभागी महाधिवेशनले पास गरेको दस्ताबेजमा प्रश्न उठाउनु संगठनात्मक अराजकता हो : महासचिव पोखरेल

असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
आफैं सहभागी महाधिवेशनले पास गरेको दस्ताबेजमा प्रश्न उठाउनु संगठनात्मक अराजकता हो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताउनुभएको छ । विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषय राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने भएकोले यसको वैधानिक व्यवस्था जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा सांगठनिक अराजकता भएको बताउनुभयो ।

“विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्छ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो”, महासचिव पोखरेलले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।”

पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारलले पनि नगर्न महासचिव पोखरेलले चेतावनी दिनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताउनुभयो । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उहाँले बताउनुभयो । “कुनै बेला सरकारमा लगिदिनुपर्यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्”, महासचिव पोखरेलले भन्नुभयो, “पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।” उहाँले यी तीनै शक्ति एमालेलाई कांग्रेसबाट अलग्याएर आफूहरू सहितको सरकार बनाउन तल्लीन रहेको पोखरेलले दाबी गर्नुभयो ।

महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा एकथरी नेता कार्यकर्ता पार्टीभित्र नै किताकाट गर्ने काममा संलग्न भएको बताउनुभएको छ । “भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन”, महासचिव पोखरेलले भेलालाई निर्देशन दिँदै भन्नुभयो, “जति बेला जे काम पर्छ त्यही गर्नुहोस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस्  ।”

महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनका दस्ताबेज केन्द्रीय कार्यलयमा साता दिनभित्र पठाउन निर्देशन दिनुभएको छ । “जनसंगठनका दस्ताबेज र पार्टीले तयार गरेको दस्ताबेजमा कति भिन्नता छ भन्ने कुरा हामी तुलना गर्छौं”, महासचिव पोखरेलले भन्नुभयो, “सबै जनसंगठनले जनतासँग जोडिने नीति र दस्ताबेज बनाएर कार्यान्वयन गर्नुहोस् ।”

पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले विधान महाधिवेशनले पास गरेका कतिपय विषय चितवन महाधिवेशनले संशोधन गरेको स्मरण गराउदै पार्टीको निर्णयविरुद्ध नबोली नेता होइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । “पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस”, ढकालले केही जनसंगठनका पदाधिकारीलाई लक्षित गर्दै भन्नुभयो, “पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसकिता केही जनसंगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।”

भेलालाई जनसंगठन संयन्त्रका उपप्रमुख रचना खड्काले सम्बोधन गर्नुभएको थियो भने केन्द्रीय सदस्य एवं मानवअधिकार अलायन्सका इन्चार्ज विष्णु रिजालले स्वागत गर्नुभएको थियो । भेलामा सबै जनसंगठनका अध्यक्ष र प्रतिनिधिहरूले आफ्ना संगठनका गतिविधी जानकारी गराउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.