युरो २०२५: स्पेन समूह 'बी' विजेता, इटाली उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश

असार २८, २०८२ |खेल ब्युरो
युरो २०२५: स्पेन समूह 'बी' विजेता, इटाली उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । स्पेन युरो-२०२५ मा समूह 'बी'को विजेता र इटाली उपविजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

गएराति भएको खेलमा स्पेनकी एस्थर गोन्जालेजले व्यक्तिगत चौथो गोल गर्दै इटालीविरूद्ध ३-१ को कठिन जित दिलाएपछि स्पेन शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा उक्लिएको हो। यससँगै उसले अन्तिम ८ मा स्थान सुरक्षित गर्‍यो ।

शुक्रबार नै भएको अर्को खेलमा बेल्जियमसँग पोर्चुगल पराजित भएपछि इटालीले हार व्यहोरे पनि समूहको दोस्रो स्थान हासिल गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको सुरूआतमा इटालीले स्पेनलाई निकै दबाबमा राख्यो। 

कप्तान एलिना लिनारीको हेडर बारमा लाग्यो भने एलिसाबेटा ओलिभिएरोले बायाँ खुट्टाले गोल गर्दै इटालीलाई अग्रता दिलाइन्। तर त्यो अग्रता केवल चार मिनेट टिक्यो। अथेनेया कास्तिलोले उत्कृष्ट दौड पछाडि एलेक्सिया पुटेयाससँगको तालमेलमा बराबरी गोल फर्काइन्। 

इटालीले पहिलो हाफमा अग्रता लिन सक्ने मौका पाए पनि मार्टिना पिएमोन्टेले सहज अवसर गुमाइन् भने बारबरा बोनान्सियाले नजिकैबाट हेडर पोस्टबाहिर पठाइन्। दोस्रो हाफको सुरूआत पनि इटालीले उच्च जोशका साथ गर्‍यो । तर गोल भने स्पेनले मात्रै गर्न सक्यो । 

बक्सको छेउबाट ल्योजे प्याट्रिका गुइजारोले जमिनमा बल हान्दै स्पेनलाई २-१ को अग्रता दिलाइन्। इटालीले प्रयास जारी राखे पनि विश्व च्याम्पियन स्पेनले खेल नियन्त्रणमा राख्यो। 

इन्जुरी समयतिर पुटेयासको अर्को असिस्टमा गोन्जालेजले क्लोज रेन्जबाट गोल गर्दै खेलको अन्तिम नतिजा ३-१ बनाइन्। अब स्पेनले क्वार्टरफाइनलमा आयोजक स्विट्जरल्यान्डको सामना गर्नेछ भने इटाली नर्वेसँग भिड्नेछ। यो समूहबाट बोल्जियम र पोर्चुगल बाहिरिएका छन्।