काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ ।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वको केन्द्रीय अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण भएको भन्दै राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको हो । कारबाहीलाई कोइराला समूहले विधानविपरीत र एकतर्फी भएको निष्कर्ष समेत निकालेको छ ।
बैठकले सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने र कारबाही नमान्ने निर्णय समेत गरेको छ । बैठकमा उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जयकुमार गौतम, सरिता प्रसाईं लगायत केन्द्रीय सदस्यहरू सहभागी थिए ।
नेपाली कांग्रेसले चुनावमा अन्तरघात गरेको भन्दै बुधबार प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जनालाई कारबाही गरेको थियो ।
गत निर्वाचनमा कांग्रेसका र कांग्रेसले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै परेको उजुरीउपर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ प्राप्त नभएको कारण कारबाही स्वरूप पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।