काठमाडौं । आईसीसी टी-२० विश्वकप युरोप छनोटमा गएरातिको खेल नेदरल्यान्ड्सले जितको भए पनि पराजित इटाली नेट रन रेटको फाइदाका कारण विश्वकपमा छनोट भएको छ।
त्यसैगरी विजेता नेदरल्यान्ड्सले समेत अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकप २०२६ का लागि स्थान सुरक्षित गरेको छ। आईसीसी पुरूष टी २० विश्वकपका लागि युरोप छनोटको अन्तिम दिन निकै रोमाञ्चक रह्यो।
अन्तिम दुई खेलअघि चार टोलीको छनोट हुने सम्भावना थियो। तर नेदरल्यान्ड्स र इटालीले प्रतियोगितामा आफ्नो स्थान पक्का गरे। इटालीका लागि यो आईसीसी पुरुष टी-२० विश्वकपमा पहिलो पटकको छनोट हो।
इटालीले निर्धारित २० ओभरमा १ सय ३४ रन बनाएर ७ विकेट गुमाएका थियो। अनुभवी रोलोफ भ्यान डर मर्वेले इटालीलाई मध्यम योगफलमा रोक्न मद्दत गरे। उनले आफ्ना चार ओभरमा मात्र १५ रन दिएर तीन विकेट लिए।
पावरप्लेमा माइकल लेभिट र म्याक्स ओडाउडले नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरूआत दिएका थिए। नेदरल्यान्ड्सले यो लक्ष्य सहजै पछ्याए पनि इटालीका खेलाडीले खेललाई १७औं ओभरसम्म लम्ब्याउन सफल भए ।
जसले गर्दा उनीहरूले अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन्। गएरातिकै अर्को खेलमा स्कटल्यान्डलाई पहिलो पटक पराजित गरे पनि जर्सी विश्वकपमा छनोट हुन सकेन।
आईसीसी पुरूष टी २० विश्वकप २०२६ का लागि अहिलेसम्म १५ टोलीले छनोट भइसकेका छन्। इस्ट एसिया प्यासिफिक छनोटबाट थप तीन टोली छनोट हुनेछन् भने अफ्रिका छनोटबाट थप दुई टोलीले स्थान बनाउनेछन्।
अहिलेसम्म अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, क्यानडा, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अमेरिका र वेस्ट इन्डिज विश्वकपमा पुगिसकेका छन्।