नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउने मन्त्रिपरिषदको निर्णय

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । अघिल्लो संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषदले निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको मन्त्रि परिषद बैठकले नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।

‘यसअघि दुबै संसदले विधेयक पारित गरिसकेको हुनाले प्रमाणीकरणका लागि पठाउने निर्णय भएको छ,’ मन्त्रिपरिषदको बैठकबारे जानकारी दिँदै एक मन्त्रीले कान्तिपुर टेलिभिजनसँग भने,‘ अघिल्लो राष्ट्रपतिबाटै प्रमाणीकरण गर्नुपर्ने विषय भएकाले संसदले दुईचोटि पारित गरिसकेको नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको हो ।’

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको माफीसम्बन्धी प्रस्तावमा भने मन्त्रिपरिषदले निर्णय नगरेको ती मन्त्रीले बताए । उनले भने, ‘यसबारे राष्ट्रपतिबाट प्राप्त पत्र अनुसार कानून र विगतका नजिरसमेत हेरेर निर्णय लिइने छ।’

यसैवीच मन्त्रिपरिषद बैठकले बाहिरी जिल्लाबाट काठमाडौं आएर राहदानी लिँदा लाग्ने १२ हजार शुल्क घटाएर ५ हजार बनाउने निर्णयसमेत गरेको छ ।