एमालेलाई माओवादीको जवाफ- संसद्‌मा आफ्नो कुरा राख्न पाइन्छ

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
एमालेलाई माओवादीको जवाफ- संसद्‌मा आफ्नो कुरा राख्न पाइन्छ

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्‌मा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधबारको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसद्‌मा समय माग गरी प्रमुख सचेतक पाण्डेले यस्तो धारणा राखेका हुन् । उनले संसद्‌लाई व्यवस्थित रुपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषयवस्तु उठाउनु नहुने जनाए । सार्वभौम संसद्‌मा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसद्‌लाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए ।

‘हामी यो संसद्‌मा छौं, संसद्‌लाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका छौं । हामीले यही संसद्‌लाई अघि बढाउने, आफ्ना कुरा संसदमा राख्ने भन्यौं, त्यहीअनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद् हो, सार्वभौम संसद्‌मा बोल्न, विषयवस्तु राख्न पाइन्छ । आफ्ना आफ्ना कुरा राख्न मिल्छन् । यसलाई व्यवस्थित रुपमा लगियोस्,’ उनले भने, ‘यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरुलाई छानबिन गर्नुपर्छ ।’

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद् चल्न नदिने अडान लिएका छन् ।