एमाले प्रमुख सचेतक गिरीले भने- पशुपतिमा लगाइएको जलहरी सुन हो कि पित्तल ? छानबिन होस्

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
एमाले प्रमुख सचेतक गिरीले भने- पशुपतिमा लगाइएको जलहरी सुन हो कि पित्तल ? छानबिन होस्

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी ओलीलाई संसद्‌बाट भ्रष्टचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सुरुमै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद् बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गरे । उनले सत्तापक्षले प्रतिपक्षी दलका नेतालाई आधार, प्रमाणविना आरोप लगाएको भन्दै सरकारको जवाफविना संसद् चल्न नदिने स्पष्ट पारे ।

‘पछिल्लो समय हामी देख्दै छौं, सदनभित्र भ्रष्टाचारका विषयहरु मन लाग्दो गरी खासगरी संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न विषयमा प्रश्नहरु औंल्याउने गर्छ । प्रश्न सोध्ने गर्छ । घच्घचाउने गर्छ । यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय विनाआधार, विनाप्रमाण, सत्ता पक्षका माननीयज्यूहरुले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गर्दै भ्रष्टाचार गरेको कुरा यही सदनको रोस्टमबाट बताइन्छ । यतिसम्म भएको छ । अस्ति मात्र जेठको १० गते यही रोस्टमबाट लेखनाथ दाहाल भन्ने सत्तापक्षको माननीयले भन्नुभयो हिजो नेकपा एमालेको सरकार हुँदा केपी ओलीले पशुपतिनाथको गजुरमा जलहरी लगाउने भनेर, सुन लगाउने नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने गम्भीर आरोप यही सदनमा लगाउनुभएको छ,’ उनले भने, ‘हामी भन्न चाहन्छौं यो आरोप कसरी आएको छ ? के तथ्यमा उभिएर आएको छ ? सत्तापक्षले यसरी मनपरी ढंगले प्रमाणबेगर, तथ्यबेगर आरोप लगाउने कुरा कदापि हामीलाई स्वीकार्य हुन सक्दैन । हामी यसलाई निन्दा गर्न चाहन्छौं । यसलाई हामी भर्त्सना पनि गर्न चाहन्छौं । म भन्न चाहन्छु, यदि पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनेदेखि सरकारसँग माग गर्न चाहन्छु सुन हो कि पित्तल हो भन्ने कुरा यो सरकारले सदनलाई जवाफ दिनुपर्छ । यथार्थ कुरा के हो सदनमार्फत आमनेपाली जनतालाई यसको विषयमा बुझ्न पाउनुपर्छ । सरकारले यो विषयमा जवाफ देओस् । यो विषयमा जवाफ नआउँदासम्म यो सदन एक इन्च पनि अगाडि बढ्नसक्ने अवस्था छैन ।’

एमालेले विरोध जनाएसँगै संसद बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो ।