गृहमन्त्रीले भने- कसैको बयानकै आधारमा मात्र पक्राउ गर्न मिल्दैन

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीले भने- कसैको बयानकै आधारमा मात्र पक्राउ गर्न मिल्दैन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको दाबी गरेका छन् ।

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको दाबी गरे ।

उनले राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको जनाए । देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ । उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको जनाउँदै नागरिकलाई अनागरिक बनाएर विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य नहुने धारणा राखे ।

‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौं । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ,’ उनले भने, ‘तब मात्रै समृद्धि हासिल हुनेछ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्ने कुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौं । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ ।’

उनले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन प्रहरीलाई निर्देशन दिएको जानकारी दिए । ‘अनुसन्धानका आधारमा हामीले कारबाही अघि बढाएका छौं । मैले प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु,’ उनले भने, ‘राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरु पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी बनाइ देशका नागरिकलाई बेच्ने कार्य सह्य नहुने धारणा राखे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.