नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : वामदेव गौतम

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सांसद गौतमले यो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुनबमोजिम कारबाही गर्नुपर्ने जिकिर गरे । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा बुधबार उनले २०४७ सालयता भएका मन्त्री र उच्च पदस्थ कर्मचारीहरुको पनि सम्पत्ति छानबिन गरी भ्रष्टमाथि कडा कारबाही गर्न गौतमले सरकारको ध्यानाकर्षण गराए ।

सांसद गौतमले सरकारले सो प्रकरणको दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएको भन्दै धन्यवादसमेत दिए । ‘त्यो अपराध हो । ज्यादै ठूलो अपराध हो । त्यसलाई नियम र कानुनबमोजिम कारबाही हुनुपर्छ । कारबाही गर्ने प्रक्रिया सुरु भएको छ । सरकारलाई म धन्यवाद दिन्छु,’ उनले भने, ‘यसैगरी सबैजसो भ्रष्टाचारजन्य विषयहरु विभिन्न किसिमका उठेका छन् । २०४७ सालदेखि आजसम्म मन्त्रीमण्डलमा रहेका व्यक्तिहरु, उच्च पदस्थ कर्मचारीहरु, त्योसँग सम्बन्धित रहेका अन्य व्यक्तिहरु सबैको सम्पत्तिको छानबिन गर्नुपर्दछ । र, गल्ती गर्नेलाई कारबाही गर्नुपर्दछ । यो सुरुवातचाहिँ भएको छ । त्यहाँसम्म पुग्नुपर्छ भन्ने मेरो विचार छ ।’

सांसद गौतमले भ्रष्टाचारजन्य गतिविधिबारे उठेका विषयहरुको छानबिन गर्न सरकार पछि पर्न नहुने सुझाव पनि दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.