सरकारको नीति तथा कार्यक्रमले देशमा गरिखाने वातावरण देखिएन : रवि लामिछाने

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारको नीति तथा कार्यक्रमले देशमा गरिखाने वातावरण देखिएन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातवारण नदेखिएको धारणा राखेका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको दाबी गरे । उनले सरकारले अनुदान लिनेभन्दा पनि लगानी भित्र्याउने नीति लिनुपर्नेमा जोड दिए । लगानीले रोजगारीको अवसर सिर्जना गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ छ ।

उनले स्थानीय तहहरुलाई जवाफदेही बनाउने ठोस कार्यक्रम पनि सरकारले ल्याउन नसकेको दाबी गरे । उनले स्वदेशी र विदेशी लगानी प्रवर्द्धन गरी उद्यमशीलतालाई बढावा दिने कुरामा ठोस कार्यक्रम नभएको पनि टिप्पणी गरे ।

‘स्थानीय तहमा साधन, स्रोतको व्यापक दुरुपयोग हुने गरेको तथ्य महालेखाको प्रतिवेदनलगायतले देखाएकै छ । स्थानीय तहमा बेरुजु भएको रकम ११ खर्ब ४ अर्ब भएको देखिन्छ । गाउँ-गाउँमा सिंहदरबार पुग्यो भनेर प्रचार-प्रसार गरिएका स्थानीय तहहरुलाई जवाफदेही बनाउने ठोस कार्यक्रम मैले देख्न सकिनँ । केन्द्र २५ वटा मन्त्रालयबाट चल्नसक्छ ? प्रदेशलाई १३/१४ वटा मन्त्रालय चाहिएको छ, अझै विभाजन गरेर राज्यमन्त्रीसमेत बनाउने खेल चलिरहेको छ । मैले यो बुझ्न सकेको छैन । यसलाई रोक्ने नीति मैले देख्न सकेको छैन,’ लामिछानेले भने, ‘स्रोत र साधनको सीमितता, हाम्रो अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या हो । हाम्रो प्रशासनिक संरचना र राज्य सञ्चालनका विधिहरु भने अत्यन्त महँगा छन् । निर्वाचन प्रणाली अत्यन्त खर्चिलो निर्वाचन प्रणाली छ यसलाई ध्यान दिनुपर्ने अवस्था देखिन्छ । स्वदेशी र विदेशी लगानी प्रवर्द्धन गरी उद्यमशीलतालाई बढावा दिने कुरामा ठोस कार्यक्रम खास देखिएको छैन । गरिखाने वातावरण बनाइदिए पुग्छ भन्ने कुरामा हामीले जोड लगाउन खोजेको । जस्तो कुनै मुलुकले हामीलाई पाँच अर्बको अनुदान दिन्छु भन्यो भने त्यो पाँच अर्बको अनुदान होइन, बरु एक अर्बको लगानी खोजौं । लगानी गर्ने वातावरण सिर्जना गरौं ।’

उनले व्यापारी, व्यवसायीलाई नेताले संरक्षण गर्ने नभइ नीति ले संरक्षण गर्नुपर्ने अवस्था बनाउनुपर्ने धारणा राखे । सरकारको नीति तथा कार्यक्रम ज्येष्ठ, नागरिक अशक्त तथा अपांगता भएका व्यक्तिहरुको पक्षमा नभएको समेत उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.