काठमाडौं । जेन-जी आन्दोलनपछि नेपाली कांग्रेस अलमल र अन्योलको अवस्थामा छ ।
पार्टी रूपान्तरण र पुस्तान्तरणको मुद्दा जबरजस्त बहसमा आएको छ । जसका लागि नियमित वा विशेष कुन महाधिवेशन गर्ने भन्नेमा विवाद छ । यसैगरी फागुन २१ गतेको निर्वाचनमा जाने कि नजाने भन्नेमा समेत अलमल छ । निर्वाचनमा जाने हो भने कसको नेतृत्वमा भन्ने झन् ठूलो अन्योल कांग्रेसमा देखिएको छ ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भौतिक आक्रमणको सामना गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीबाट सम्मानजनक बहिर्गमनको खोजीमा हुनुहुन्छ । त्यसका लागि उहाँले नेताहरूलाई मिलेर आउन भनिसक्नुभएको छ । तर कांग्रेसमा अहिले स्पष्ट तीन धार देखिएका छन् ।
एउटा धार मंसिरमा नियमित महाधिवेशन गरेर जानुपर्ने पक्षमा छ भने अर्को समूह तत्काल विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ । तर तेस्रो धार न मंसिरमा नियमित महाधिवेशन गर्ने पक्षमा छ न त विशेष महाधिवेशन नै । बरु सभापति देउवाकै नेतृत्वमा विधानले दिएको समय अर्थात् एक वर्षसम्म अघि बढ्नुपर्छ भनिरहेको छ ।
महामन्त्री गगन थापाले आगामी केन्द्रीय समिति बैठकमा मंसिरमै नियमित महाधिवेशन गर्ने प्रस्ताव लैजाने तयारी गर्नुभएको छ । नियमित महाधिवेशनको पक्षमा निर्णय गराउन नसके विशेष महाधिवेशन गर्ने प्रस्ताव उहाँको हुने दाबी नेताहरुको छ ।
नेता शेखर कोइराला भने जसरी पनि मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा हुनुहुन्छ । केन्द्रीय समितिमा पनि उहाँले त्यही प्रस्ताव गर्दै हुनुहुन्छ । कोइराला पक्षका कतिपय नेताले विशेष महाधिवेशनका लागि हस्ताक्षर चलाइरहेका छन् । तर विशेष महाधिवेशनले पार्टीभित्रका जेन-जीको भावना समेट्न नसक्ने र अहिलेका समस्या समाधान नगर्ने भएकाले कोइरालाले नियमित महाधिवेशन नै गर्नुपर्ने प्रस्ताव गर्ने नेताहरुको भनाइ छ ।
सभापति देउवा निकट नेताहरु भने अहिले विशेष र नियमित दुवै महाधिवेशनको विपक्षमा छन् । देउवा अहिले नै पार्टी नेतृत्वबाट बाहिरिए आन्तरिक एकता नै टुट्ने तर्क उनीहरुको छ । बरु उपसभापति पूर्णबहादुर खड्का आफूलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने मत राखिरहनुभएको छ । तर कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइरालालगायतका पूर्वपदाधिकारीहरु देउवालाई तत्काल नेतृत्व नछाड्न दबाब दिइरहेका छन् ।
यता फागुन २१ गते हुने चुनावमा समेत जाने कि नजाने भन्ने अन्योल कांग्रेसमा छ । कतिपय नेता प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा छन् भने केही चुनावमा जानुपर्ने भन्नेमा । तर चुनावका विषयमा नेताहरु अहिले नै धेरै खुल्न चाहेका छैनन् । बरु सरकारले सुरक्षाको प्रत्याभूति दिन सक्छ कि सक्दैन भन्ने प्रश्न चाहिँ गरिरहेका छन् ।
निर्वाचनमा कसको नेतृत्वमा जाने भन्ने विषय पनि कांग्रेसमा पेचिलो छ । चुनाव अघि नै महाधिवेशन गराएर सभापति बन्ने रणनीति नेता शेखर कोइरालाको छ । अर्कोतिर विशेष महाधिवेशन गराउन सके आफू नेतृत्वमा पुग्ने दाउ महामन्त्री गगनकुमार थापाको छ ।
यता उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बनेर चुनावमा जाने र त्यसकै बलमा सभापति बन्ने दाउमा हुनुहुन्छ । यता पूर्वपदाधिकारीहरुको अर्को समूहले देउवाकै नेतृत्वमा अगाडि बढ्नुपर्ने बताइरहँदा कांग्रेस अलमल र अन्योलको अवस्थामा पुगेको हो ।