देश दुर्घटनामा जाला कि भन्ने चिन्ताले बालकोट गएँ : दाहाल

जेष्ठ ६, २०८० |कान्तिपुर टीभी संवाददाता
देश दुर्घटनामा जाला कि भन्ने चिन्ताले बालकोट गएँ : दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान थापाथलीमा कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करणको उदघाटन गरे । त्यसक्रममा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले केपी शर्मा ओलीसँगको भेट, नक्कली भुटानी शरणार्थी प्रकरण र आशन्न भारत भ्रमणका विषयमा केही खुलासा गरे ।

देशको अर्थतन्त्र संकटतिर गइराखेको बेलामा कार्यकारी प्रमुखको जिम्मेवारी लिने कुरा आफैंमा चुनौतीपूर्ण रहेको प्रधानमन्त्रीले बताएका छन् ।

पछिल्लो समय भुटानी शरणार्थी प्रकरण चर्किएका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवासँग भएका तारन्तार बैठकले कतै तीन नेतावीच चोचोमोचो मिलेको त हैन ? भन्ने आशंका जन्मिएका छन् । तर, प्रधानमन्त्री दाहालले भने देशलाई दुर्घटनाबाट बचाउनका लागि ती भेटघाटहरु भएको तर्क गरेका छन् ।

तीन नेताको भेटबारे प्रधानमन्त्री दाहालको भनाइ उनकै शब्दमा–

संयुक्त राष्ट्र संघदेखि विभिन्न अन्तरराष्ट्रिय संघसंस्था, विभिन्न शक्ति केन्द्र सबैले पनि यो विषय (भुटानी शरणार्थी प्रकरण) लाई गम्भीररुपले हेरेको हुनाले मलाई विश्वास छ, यो अव कसैले दायाँ वायाँ गर्ने इत्यादि.... । कहिलेकाहीँ मिडियामा आउँछ, म प्रधानमन्त्रीको हैसियतले र शेरबहादुरजी र केपी ओली बस्दा यही विषयमा कुरा गरेर सामसुम पार्न खोजेका हुन् कि भनेर निकै आशंका पनि भयो ।

जब कि हामी बसेको पार्लियामेन्टका लागि हो । पार्लियामेन्टमा वातावरण कसरी सहज बनाउने भन्ने विषयमा नै हामी बसेको हो । मैले पटक पटक भनेको पनि छु, आज पनि म प्रष्टसँग भन्न चाहन्छु– हामीले यो विषयमा दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने बाहेक तीनजना बसेर कहिल्यै पनि कुरा गरेको छैन । कुरा गर्न सक्ने स्थिति पनि छैन । तपाईहरुले जस्तो वातावरण बनाउनुभएको छ, बाहिर पनि, त्यसले पनि हामी सबै सजग छौं । म यो कुरा पनि प्रष्ट गर्न चाहन्छु ।

केपी ओलीजी, प्रतिपक्षी दलको नेता केही अस्वस्थ भएका बेलामा म शेरबहादुरजीलाई लिएर बालकोट पुगेको छु । पहिलो बैठक हामी तीनजनाले बालकोटमा गर्यौं । त्यतिबेलाको हाम्र्रो खाली के थियो भने सदनमा नियमावली कसरी पास गर्ने, पार्टीहरुवीचको सहमति र सहकार्यलाई कसरी अगाडि बढाउने भन्ने कुरासँग मात्रै केन्द्रित थियो । त्यतिबेला यो (शरणार्थी) विषय त्यति गम्भीर ढंगले अगाडि आइ पनि सकेको थिएन, जति गम्भीर पछि बन्दै गयो ।

दोस्रो र तेस्रोपटक पनि हामी सदनभित्र‍‍.... म यहाँनेर एउटा नयाँ कुरा के राख्न चाहन्छु भने देशमा लामो संघर्ष र बलिदानपछि प्राप्त भएको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै विभिन्न कोणबाट वितृष्णा फैलाउने कोशिश बढेको छ । यो प्रवृत्ति बढ्दै गयो भने देश दुर्घटनामा जान सक्छ भन्ने चिन्ता हामीलाई छ । मलाई अझ बढी छ । त्यसो भएको हुनाले बालकोट गएर पनि तीनजना नेता बस्नु, संसदभित्र सम्झौता मैले केही आफू लचिलो भएर नै गरेको छु प्याकेजमा । तपाईहरुलाई थाहा छ, समिति बनाउने, सुनुवाई समिति बनाउने, संवैधानिक परिषदसम्बन्धी विधेयक अगाडि बढाउने लगायत टीआरसीसँग सम्बन्धी यसमा हामीले सहमति गरेका पनि छौं ।

यसका पछाडिको तपाई गहिरो गरी हेर्नुभयो भने उद्देश्य के छ भने हिजो बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रका सहयात्रीहरु देशका अगाडि विद्यमान मूल विषयमा एक ठाउँमा नउभिने हो भने देश दुर्घटनामा जाला कि भन्ने चिन्ताले काम गरेको छ ।

म कान्तिपुर मिडियामार्फत आम नेपाली जनता र सबै राजनीतिक कार्यकर्तालाई पनि भन्न चाहन्छु कि देशको एकता, परिवर्तनको रक्षा र यो परिवर्तनमार्फत नै जनतालाई डेलिभरी दिन सकिन्छ, सुशासन र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा भएको हुनाले पनि हिजोको सहमतिलाई फेरि एकचोटि जीवन्त बनाउने उद्येश्यका साथ (तीन नेताको बैठक) बसेको कुरा पनि जानकारी गराउन चाहन्छु ।

फेरि, यति भनिसकेपछि कता–कता सरकारले यो वीचमा अर्थतन्त्रमा परेको दबावको सामना गर्न गरेका निर्णयहरु पछि परेको जस्तो, यसवीचमा अरु थुप्रै सेटिङमा छन् भनेका कुराहरुलाई भत्काउन सरकारले लिएका निर्णयहरु पछि परेको जस्तो, अरु थुप्रै विकृतिहरु अन्त्य गर्नका लागि गरेका प्रयासहरु, राजस्व, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढाउन गरिएका प्रयासहरुको प्रभावबारे कम चर्चा भएको छ । मैले हेर्दा समग्रमा नै हामी सुशासनतिर अगाडि बढेका छौं । 

सम्बन्धित समाचार...

नयाँ इतिहास रचिन्छ होला भन्ने विश्वासका साथ भारत जाँदैछु : प्रधानमन्त्री (भिडियोसहित)
शरणार्थी प्रकरण : ‘अमेरिकाको चासो स्वाभाविक, एफबीआईले पनि हेरेकै होला’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement