देउवाको कार्यशैली र नेताहरुको असन्तुष्टिले कांग्रेसभित्र रडाको

जेष्ठ ३, २०८० |प्रकाश बम
देउवाको कार्यशैली र नेताहरुको असन्तुष्टिले कांग्रेसभित्र रडाको

काठमाडौं । आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्ने नेपाली कांग्रेसभित्र विचार र विधिको बहस हुन छाडेको निकै भयो । डेढ वर्षअघि सम्पन्न महाधिवेशनमा समेत नीति र पद्धतिका बारेमा छलफल हुन सकेन । कुनै पनि महत्वपूर्ण मुद्दामा संस्थागत धारणा सार्वजानिक हुन छाडेको धेरै भएको छ । अहिले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेतालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा समेत कांग्रेसभित्र विवाद देखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि बसेको पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले तत्काल निलम्बन गर्नुपर्ने प्रस्ताव गरे । तर, सभापति शेरबहादुर देउवाले सहमति जनाएनन्, बरु अदालतले फैसला नगरेसम्म कारबाही गर्ने परम्परा नरहेको भन्दै खाणको बचाउ गरे । सभापति नै बचाउमा उत्रिँदा प्रहरी हिरासतमा रहेका खाण कांग्रेस केन्द्रीय सदस्यमा यथावत छन् । खाणको निलम्बनका लागि अन्य नेताहरु विभिन्न फोरममा आवाज उठाइरहेका छन् ।

एमालेले शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरिसकेको छ । एमालेको निर्णयले कांग्रेसमा खाणलाई पनि निलम्बन गर्न दबाब बढेको छ । तर, नेतृत्वकै कारण खाणको केन्द्रीय सदस्यको हैसियत जोगिएको छ।

पार्टीका जिम्मेवार पदाधिकारीको प्रस्ताव सुनुवाइ नभएको यो पहिलो भने होइन । महामन्त्री थापासहितका नेताहरुले चुनावअघिको गठबन्धन लोकतन्त्रका लागि हितकर नहुने भन्दै माओवादीसहितका दलसँग तालमेल नगर्न दबाब दिएका थिए । पार्टीमा एकपछि अर्को विवाद थपिँदै जाँदा भिन्न भिन्न विचार समूह बनेका छन् । यथास्थितिमा पार्टी नचल्ने भन्दै केही युवा नेताले नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका छन् ।

पार्टीका नेताहरुले आन्तरिक र सार्वजनिक रुपमै नेतृत्वको आलोचना गरिरहँदा संस्थापन पक्ष भने स्वीकार्न तयार छैन । विधानमा दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय समितिको बैठक बस्ने व्यवस्था भए पनि ७ महिनादेखि बैठक बस्न सकेको छैन ।

केन्द्रीय समितिमा ८० प्रतिशत बहुमतमा रहेका देउवाले कुनै दबाबको सुनुवाइ गरेका छैनन् । देउवामाथि दबाब सिर्जना गर्ने वैधानिक बाटो पार्टीभित्र अविश्वासको प्रस्ताव हो । विधानको धारा ४४ मा सभापतिविरुद्ध २५ प्रतिशत निर्वाचकले अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ । तर, पारित हुन दुई तिहाइ चाहिन्छ, जुन सहज छैन । देउवाको कार्यशैली र नेताहरुको असन्तुष्टिले कांग्रेसभित्रको रडाको कहाँ पुगेर टुंगिएला ? स्वयं पार्टीकै नेताहरुलाई थाहा छैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।