रास्वपा संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने केन्द्रीय समितिको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।
आज (सोमबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकले संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गर्ने निर्णय गरेको हो । केहीबेरमा बस्ने संसदीय दलको बैठकले लामिछानेलाई नेतामा औपचारिक रुपमा चयन गर्नेछ ।
उपनिर्वाचनबाट पुनः निर्वाचित भएर आएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको थियो । सोही बैठकबाट लामिछानेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय गरिएको हो । आजै संसदीय दलको बैठकले लामिछानेलाई आधिकारिक रुपमा नेतामा चयन गर्ने तयारी छ ।
यस्तै बैठकले बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते भएको उपनिर्वाचनको समीक्षा गर्न विशेष समिति बनाएको छ । केन्द्रीय समिति बैठकले ३६ वटा विभिन्न केन्द्रीय विभागहरु बनाएको छ । जसमा अर्थनीति विभागमा स्वर्णिम वाग्ले, कानुन तथा न्याय विभागमा सोविता गौतम, स्वास्थ्य तथा जनसंख्या विभागमा तोसिमा कार्की, नीति तथा कार्यक्रम विभाग र प्रशिक्षण विभागमा महामन्त्री मुकुल ढकाल, संगठन विभागमा कवीन्द्र बुर्लाकोटीलगायतलाई जिम्मेवारी दिइएको छ ।
यस्तै बैठकले सरकारमा जाने वा नजाने भन्ने विषय शुक्रबार पुन: बैठक बसेर तय गर्ने निर्णय गरेको छ । यसैगरी पुराना मन्त्रालय नपाए र साझा कार्यक्रम संशोधन नगरे सरकारमा नजाने पनि रास्वपाको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।
लामिछाने पदमुक्त भए पछि पार्टीले उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । उपनिर्वाचनबाट लामिछाने जितेर आएपछि अर्यालले अस्ति (शनिबार) राजीनामा दिएका थिए । चितवन २ बाट लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाको सांसदको संख्या २१ पुगेको छ ।
बैठकले कुन विभागमा कसलाई चयन गर्यो हेरौं विभाग र जिम्मेवारी :
* हेडलाइन परिवर्तन गरिएको ।