ढाकाकुमारको अडियो काण्ड : अख्तियारले थाल्यो छानबिन, राजनीतिको आडमा उन्मुक्ति नदिन चौतर्फी दबाब

चैत्र २८, २०७९ |रमेश धमला
ढाकाकुमारको अडियो काण्ड : अख्तियारले थाल्यो छानबिन, राजनीतिको आडमा उन्मुक्ति नदिन चौतर्फी दबाब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घूस मागेको अडियो सार्वजनिक भएपछि त्यसमाथि हुने अनुसन्धानमा सबैको चासो छ । संसद्‌देखि चियापसलसम्म यही विषयले चर्चा पाइरहेको छ । हुन त आर्थिक अनुशासन बाहिर गएर नेताहरुले पदको दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको यो पहिलो घटना भने होइन । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरादेखि एमाले नेता गोकुल बास्कोटासम्मले घूस तथा पैसा मागेको अडियो सार्वजनिक हुँदा पनि राजनीतिक दबाबमा अनुसन्धान र कारबाही हुन नसकेको विगत छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको छ । सञ्चारमाध्यममा आएका सूचनालाई नै आधार बनाएर अख्तियारले अनुसन्धान सुरु गरेको हो । त्यसका लागि अब श्रेष्ठले बोलेको अडियोको परीक्षणदेखि रकम असुल भएको छ या छैन र असुल गरेको भए कसलाई बुझाउने हो भन्नेसम्मको तथ्य खोजी हुनेछ ।

त्यसो त २०७६ सालमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन माग गरेको अडियो सार्वजनिक भए पनि थप अनुसन्धान भएन । उनले मन्त्रीबाट राजीनामा त दिए तर यो घटनाबाट उन्मुक्ति पाइरहेका छन् । त्यस्तै २०६७ सालमा नेकपा माओवादी केन्द्र नेता कृष्णबहादुर महराले सरकार बनाउन सांसद किन्नुपर्ने भन्दै चिनियाँ व्यापारीसँग ५० करोड माग गरेको अडियो पनि कहिलै अनुसन्धानको दायरामा आएन ।

आपराधिक घटना होस् वा भ्रष्टाचारसम्बन्धी। त्यसमा आउने अडियोलाई आधारमा बनाएर अनुसन्धान मात्रै होइन, प्रमाणित भएका उदाहरण भने छन् । अख्तियारकै आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउन पैसा माग गरेको घटनामा अडियोकै आधारमा चलाइएको मुद्दा प्रमाणित भएको छ ।

अडियो त एउटा आधार हो । अब अनुसन्धान गर्ने निकायले थप प्रमाण र तथ्य खोजेर मुद्दा अघि बढाउन सक्ने कानुनविद् बताउँछन् ।

भ्रष्टाचार जस्तो गम्भीर कसुरमा राजनीतिक आडकै भरमा उन्मुक्ति पाउँदा देशमा दण्डहीनता मौलाएको छ । सार्वजनिक पद खरिद बिक्रीमा गरिने अनुसन्धानले कुनै एक व्यक्तिलाई मात्र नभएर त्यसको सन्जालमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

यो पनि...

घूस मागेको अडियो सांसद ढाकाकुमारकै भएको रास्वपा अनुशासन समितिको निष्कर्ष


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।