ढाकाकुमार प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग, धनराज भन्छन्- कोर टिम भनेको को हो ?

चैत्र २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
ढाकाकुमार प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग, धनराज भन्छन्- कोर टिम भनेको को हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सोमबार उनले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधिसभा चुप लागेर बस्नु नहुने धारणा राखे । सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन उनको माग छ । त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टिम’ लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टिम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने माग राखे ।

‘म निवेदन गर्न चाहन्छु, त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नु पर्दैन ? यसको छानबिनका लागि आज यो संसद्‌भित्रको एउटा प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा, भ्रष्टाचारको सन्दर्भमा, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्नु हुँदैन,’ गुरुङले भने, ‘त्यसकारणले आजैको दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न म माग गर्दछु ।’

त्यस्तै सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने भन्दै करोडौं रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने माग गरे । ‘यसमा ठूलै नेताहरुको पनि नाम जोडिएर सञ्चारमाध्यममा आइपुगेको छ । अनि ठूलालाई चैन सानालाई ऐन हुन्छ कि ? होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिए पनि गृह प्रशासन काँप्नु हुँदैन । गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जतिसुकै ठूलो नेता भए पनि कारबाहीको दायरामा ल्याउनैपर्छ । कानुनको कठघरामा उभ्याउनै पर्छ,’ उनले भने ।

सो प्रकरणमा ठूला नेताहरुको नाम जोडिएको उल्लेख गर्दै सांसद गुरुङले जति ठूला नेताको नाम जोडिए पनि कानुनी कठघरामा ल्याउनुपर्ने माग गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement