उपचुनावको विश्लेषण : तनहुँ, चितवन र बारामा को बलियो ?

चैत्र १८, २०७९ |अञ्जना लामिछाने
उपचुनावको विश्लेषण : तनहुँ, चितवन र बारामा को बलियो ?

काठमाडौं । वैशाख १० मा हुने उपचुनावका लागि तनहुँ, चितवन र बारामा सोमबार मनोनयन दर्ता हुँदैछ । कुल ३ लाख ५३ हजार ५ सय ४८ जनाले मतदान गर्न पाउने भए पनि उपचुनावको चर्चा भने देशैभर शुरु भएको छ । सामाजिक सञ्जाल पनि तातेको छ ।

यो उपचुनावले रवि लामिछाने, उपेन्द्र यादव, राजेन्द्र महतो, कांग्रेस छाडेका डा. स्वर्णिम वाग्ले, पूर्वआईजीपी सर्वेन्द्र खनाल र पूर्वडीआइजी रमेश खरेलको मात्र होइन, नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला पार्टीको पनि सामर्थ्यको परीक्षा लिने छ ।

एक लाख २३ हजार ३०५ जना मतदाता रहेको तनहुँमा नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । एमालेले नाम टुंगो लगाइसकेको छैन । यहाँ कांग्रेस छाडेर अर्थविद स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न लागेका छन् । वाग्लेको विद्रोह, दलबदल र उम्मेदवारी घोषणाले कांग्रेसभित्र तरंग ल्याएको छ ।

मंसिरको चुनावमा तनहुँ १ बाट रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याउँदा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ पाएका थिए । कांग्रेसका बागी गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ४४ मत पाएको थियो । गोविन्दराज जोशीको पक्षमा झरेको ८ हजार, घण्टीको ६ हजार, रामचन्द्रको पक्षको केही हजार र एमालेको पनि केही मत तान्न सफल भएमा स्वर्णिम वाग्ले कांग्रेस र एमाले दुबैका लागि चुनौती बन्ने देखिन्छ ।

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले मंसिरमा फराकिलो मतान्तरले जितेका थिए । सर्वोच्च अदालतको आदेशबाट पदच्युत भएका लामिछाने फेरि उपनिर्वाचन लड्दैछन् भने कांग्रेसले यहाँबाट युवा नेता जीतनारायण श्रेष्ठलाई अघि सारेको छ । एमालेले रामप्रसाद न्यौपानेलाई उम्मदेवार बनाउने भएको छ ।

मंसिरमा रविले ४९ हजार २६४ मत ल्याएर जितेको चितवनमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत मात्रै पाएका थिए । तेस्रो स्थानमा झरेका एमालेका पूर्वसांसद कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत पाएका थिए । सबै उम्मेदवारको योगफल भन्दा बढी मत ल्याएर जितेका रवि अहिले पनि जित्नेमा ढुक्क देखिन्छन् । तर, २०७४ सालको मतपरिणाम हेर्दा चितवन २ का जनताको मन परिवर्तनशील देखिने गरेको छ ।

त्यसो त २०७९ सालमा रविलाई ४९ हजार मत दिने चितवनबासीले २०७४ मा माओवादीको समेत समर्थनमा उठेका एमालेका कृष्णभक्त पोखरेललाई ४४ हजार ६७० र कांग्रेसलाई २७ हजार ३१४ मत दिएका थिए । विवेकशील साझा पार्टीले त्यसबेला १२ सय ४५ मत पाएको थियो । जबकि २०७९ मा यहाँका जनताले कांग्रेस, एमाले र माओवादीको साटो रवि लामिछानेलाई रोजे । तर, मंसिरमा पहिलोचोटि चुनावमा गएका रविले अहिले विभिन्न प्रश्नको सामना गर्नुपर्ने छ ।

बारा २ मा जसपा नेता एवं उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एमालेसँग मिलेर मंसिरमा १३ हजार ८२२ मत पाएका थिए । माओवादीका शिवचन्द्रप्रसाद कुशवाहले कांग्रेसको साथ लिएर १३ हजार ४६८ मत पाए । गठबन्धन कार्यान्वयन हुन नसकेको बारामा जसपाका बागी रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाए, जो अहिले जसपामा फर्किएका छन् । कांग्रेसबाट पनि रविन्द्रप्रसाद यादव बागी उठेका थिए, जसले १० हजार ७५० मत पाए । स्वतन्त्र उम्मेदवार अरुण ज्ञवालीले ७ हजार ६८९ मत पाए, जो अहिले प्रभु साहको पार्टीमा लागेका छन् ।

बाराको क्षेत्रमा जनमत पार्टीको मत २ हजार ७२५ मत खसेको थियो भने नागरिक उन्मुक्तिले १ हजार १११ मत पाएको थियो । राप्रपासँग ४५९ मत थियो । अहिले रविको पार्टीबाट उम्मेदवार बन्न लागेका पूर्वडीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले बारा २ बाट मंसिरमा १५० मत पाएको थियो ।

तीन सातापछि हुने उप निर्वाचनमा कांग्रेस, जसपा र स्वतन्त्र पार्टीलाई आफूले मंसिरमा जितेका एक–एक सिट जोगाउनुपर्ने चुनौती छ भने एमालेलाई मंसिरमा गुमेका सिट फिर्ता ल्याउनुपर्ने छ । चितवनमा लोकप्रिय मत पाएर हौसिएका रवि लामिछानेले गुमेको बाहेक अरु पनि सिट थप्ने दाबी गर्न थालेका छन् । मैदानमा कांग्रेस छाडेका अर्थविद् स्वर्णिम वाग्लेसमेतको उपस्थितिले तीन निर्वाचन क्षेत्रको उपचुनावलाई रोचक बनाएको छ । 


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।