पर्दा पछाडिबाट बिचाैलियाले सरकार चलाइरहेकाे छ : उपेन्द्र यादव

श्रावण १४, २०८२ |आरएन विश्वास
पर्दा पछाडिबाट बिचाैलियाले सरकार चलाइरहेकाे छ : उपेन्द्र यादव

सप्तरी । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली सरकारलाई पर्दा पछाडिबाट बिचाैलियाले चलाइरहेकाे आराेप लगाउनु भएको छ ।

जसपा सप्तरीको जिल्ला अधिवेशन उद्घाटन सत्रलाई बुधबार राजविराजमा सम्बाेधन गर्नुहुँदै अध्यक्ष यादवले यस्तो बताउनु भएकाे हाे ।

प्रत्यक्ष नभएपनि पर्दा पछाडिबाट बिचाैलियाले सरकार चलाइरहेकाे हुँदा सरकारमा रहेकाहरूबाटै अनेक काण्ड आइरहेकाे अध्यक्ष यादवकाे भनाइ छ ।

देशमा अराजकता हटाउने, सुशासन कायम गर्ने, देशकाे धरायसायी हुँदै गएकाे अर्थतन्त्र सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र संविधान संशाेधन गर्ने भनि आश्वासनकाे आधारमा एमाले-काँग्रेस नेतृत्वकाे दुई तिहाइकाे सरकारलाई जसपाले समर्थन गरे पनि एकवर्षसम्म उक्त बुँदाहरू सरकारबाट सम्बाेधन नहुँदा समर्थन फिर्ता लिनुपरेकाे जानकारी अध्यक्ष यादवले कार्यकर्ताहरूलाई गराउनुभयाे ।

अर्को प्रसंगमा मधेशकाे जंगल काटेर पुनर्बास कम्पनी खाेलेर हदबन्दीकाे नाममा मधेशकाे भुमिमा मधेशी स्वयं अल्पसंख्यक बनेकाे गुनासो जसपा अध्यक्ष यादवले गर्नुभयो ।

जिल्ला अधिवेशन अन्तर्गत भाेलि (बिहिबार)देखि बन्दसत्र सुरू हुनेछ । जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने भएको हुँदा यसकालागि वर्तमान अध्यक्ष केदार यादवसहित उपाध्यक्ष उमेशकुमार यादव र सचिव हरेराम यादवकाे दावेदारी रहेको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।