बागमती । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामाले इमान्दारीपूर्वक पद नछाडे पद्धति र प्रक्रियाबाट बिदाइ गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार संसदीय दलको नेतामा चयन भएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै बानियाँले मुख्यमन्त्री लामालाई राजीनामा दिन सुझाव दिनुभएको हो । मुख्यमन्त्री लामाले भने संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजनीमा दिनु नपर्ने प्रतिक्रिया दिनुभएको छ ।
बुधबार प्रदेशसभा सचिवालयमा भएको मतदानमा ३७ मध्ये बानियाँ २२ मत ल्याएर कांग्रेस संसदीय दलनको नेतामा विजयी हुनुभएको हो । संसदीय दलको नेता बन्न उम्मेदवारी दिएका मुख्यमन्त्री बहादुरसिंह लामाको पक्षमा १४ मत खस्यो भने एक मत बदर भयो।
संसदीय दलमा उम्मेद्वारी दिएका दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता मानिनुहुन्छ । संसदीय दलमा लामाविरूद्ध अविश्वासको प्रस्ताव पारित भएपछि बुधबार नयाँ नेता चयन गर्न निर्वाचन भएको थियो । लामाले फेरि उम्मेदवारी दिनुभएको थियो ।
यसैबीच मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङ मन्त्री नियुक्त गर्नुभएको हो ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। श्रेष्ठ र गुरूङको भने जिम्मेवारी तोकिन बाँकी छ।