काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबलमा विभागिय टोली नेपाल एपीएफ क्लब र श्री भगवती क्लबबीचको खेल २-२ को रोमाञ्चक बराबरीमा सकिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले सुरूआती दुई गोल गर्दै राम्रो अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।
खेलको ४०औं मिनेटमा आयुश सरकारले पहिलो गोल गर्दै एपीएफलाई अघि बढाएका थिए। त्यसपछि ८४औं मिनेटमा पुजन ढकालले दोस्रो गोल थपे। अन्तिम समयसम्म सम्हालिन नसक्दा एपीएफले दुई गोल खाँदै जित गुमायो।
८९औं मिनेटमा सबिर श्रेष्ठले श्री भगवतीका लागि पहिलो गोल फर्काए। त्यसपछि इन्जुरी समयमा अनिल परियारले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। यो नतिजासँगै एपीएफले १० खेलबाट १६ अंक जोड्दै छैटौं स्थानमा रहँदा, श्री भगवती १० अंकसहित नवौं स्थानमा छ। दोश्रो खेलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई ४-१ले हराएको छ।
पहिलो हाफमा पुलिसकालागि रिजन गौतम र समिर कुमारले गरेका थिए । संकटाका लागि पेम्बा तामाङले ५४औ मिनेटमा एक गोल फर्काए । ८५औ मिनेटमा मेस्सी बीर बीक्रम शाहले गोल गरे ।
समिर कुमारले ईन्जुरी टाईममा ४-१ बनाए । जितसँगै पुलिसको १० खेलमा २५ अंक भएको छ। संकटको १० खेलमा १९ अंक छ । तेस्रो खेलमा फ्रेन्डस क्लबले प्लानिङ बोईज युनाईटेडलाई ३-० ले हराएको छ। जितसँगै फ्रेन्डसको १० खेलमा २२ अंक छ भने प्लानिङको समान खेलमा ६ अंक छ ।