काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आउँदो शुक्रबार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले शुक्रबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार स्थायी कमिटी बैठकका एजेण्डाहरूमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषय तय भएका छन् । सापकोटाले स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गर्ने पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकबाट शुक्रबार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गरिएका छन् । कमिटीको बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । त्यसपछि हाम्रो पोखरा आएर रोकिएको अभियान सञ्चालनको बारेमा छलफल हुनेछ । र त्यस्तै केन्द्रीय समितिको बैठकको मिति तय गर्नेबारे छलफल हुनेछ । अहिले समाजवादी मोर्चाका बैठकहरू पनि बसिरहेका छन् । केही समय सुस्ताएको जस्तो भएको थियो । त्यसलाई सक्रिय बनाउने कुरामा पनि स्थायी कमिटी बैठकले छलफल गर्नेछ ।’
स्थायी कमिटी बैठकबाट संगठन निर्माण, नेताहरूको कार्यविभाजन लगायत प्रस्ताव पारित गरिने पनि उहाँकाे भनाइ छ ।