काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा प्रदान गरिँदै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना हुने भएको छ। आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा आयाेजना हुने अवार्ड कार्यक्रमबारे बुधवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे हो।
पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ पहिलो पटक पोखरामा आयोजना हुने भएपछि देशको पर्यटकीय राजधानी पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । पोखरालाई खेलकुद हबका रूपमा विकास गर्न पूर्वाधार विकासमा महानगरपालिका लागि परेको उहाँको दाबी थियो ।
यसपटक पोखरा महानगरपालिकाले मुख्य प्रवर्द्धकको रूपमा अवार्ड कार्यक्रमलाई सहयोग गर्नेछ।
पोखरा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै महानगरपालिकाले अवार्ड कार्यक्रमलाई आफ्नो वार्षिक विकास कार्यक्रममा समेत समावेश गरेको छ।
पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले पोखरा ठूला अन्तराष्ट्रिय इभेन्टका लागि योग्य रहेको बताउँदै यो अवार्ड कार्यक्रमले पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पोखरालाई खेलकुद हबका रूपमा विकास गर्न पूर्वाधार विकासमा लागि परेको बताउनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड यो वर्ष २२ औं संस्करणमा हो । नेपाली खेलकुदको दायरा विस्तार हुँदै गइरहेकाले अवार्डलाई देशव्यापी बनाउन काठमाडौँबाहिर लैजानुपर्ने आवश्यकताले यस पटक पोखरालाई छनोट गरिएको आयोजकले जनाएको छ ।
अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, एसियन स्पोर्ट्स जर्नालिस्ट र टिम अफ दी इयर गरी १० विधामा सम्मान गरिनेछ।
विजेताको घोषणा अवार्डकै दिन गरिनेछ भने पिपल्स च्वाइससहित केही विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ।
पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ दिइनेछ। नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने छ ।