कांग्रेसभित्रकै असन्तुष्टिले मन्त्रिपरिषद् अपूर्ण

चैत्र १८, २०७९ |पर्वतराज घिमिरे
कांग्रेसभित्रकै असन्तुष्टिले मन्त्रिपरिषद् अपूर्ण

काठमाडौं । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नेपाली कांग्रेसको आन्तरिक असन्तुष्टि बाहिर छताछुल्ल भयो । 

नेता शेखर कोइराला समूहले तीनवटा मन्त्रालयको दाबी नछाडेपछि कांग्रेसले सरकारमा चार जना मात्रै मन्त्रीहरू पठायो । जबकि उसले ८ वटा मन्त्रालय पाउने सहमति थियो । 

कांग्रेसको भागमा परेका आठ मध्ये दुई मन्त्रालय मात्रै नेता कोइराला समूहले पाउने भएपछि कांग्रेसभित्रको असन्तुष्टि छरपस्ट भएको हो । सभापति शेरबहादुर देउवाले कोइराला समूहका धनराज गुरुङ र डिगबहादुर लिम्बुलाई सरकारमा पठाउने तयारी गरेका थिए । तर नेता कोइरालाले कम्तीमा तीन मन्त्रालय पाउनु पर्ने दाबी नछाडेपछि सभापति देउवाले कांग्रेसको भागमा परेका मध्ये चार मन्त्रीको मात्र नाम पठाएका हुन् ।

कोइराला समूहको असन्तुष्टिका कारण शपथका लागि तयारी अवस्थामा रहेका एनपी साउद र मोहनबहादुर बस्नेत मन्त्री हुनबाट रोकिएका छन् । कोइराला समूहले गुरुङ र लिम्बुसँगै प्रदीप पौडेल वा बद्री पाण्डेलाई सरकार पठाउन चाहेको छ । अब कांग्रेसको भागमा परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन र खेलकुद मन्त्रालय छ ।

कांग्रेस सभापति देउवा भने कोइराला समूहको मागप्रति सकारात्मक छैनन् । पुस १० गते तत्कालीन गठबन्धन भत्किँदा आफूलाई दोष लगाइएको,  पुस २६ मा सरकारलाई समर्थन गर्दा असहयोग गरेको र प्रतिपक्षमा बस्न कोइराला समूहले दबाब बढाएको बुझाइ सभापति देउवाको छ । 

यता कोइराला समूह भने सभापतिलाई दबाब बढाएर सरकारमा आफ्नो समूहको उपस्थिति बलियो बनाउन चाहन्छ । नेपाली कांग्रेसमा संस्थापन समूह एकलौटी चल्न खोज्नु र इतर समूहले भाग खोज्नु परम्पराजस्तै बनिसकेको छ । तर स्थिर राजनीतिका लागि एउटा समूहले पेलेर जाने मनोविज्ञान र अर्को समूहले भाग  खोज्ने संस्कार भने अन्त्य हुन जरुरी छ ।

सम्बन्धित समाचार...

दाहाल सरकारको तीनमहिने उपलब्धि : अपूरो मन्त्रिपरिषद्
यस्ता छन् दाहाल नेतृत्वको मन्त्रिपरिषद्का सदस्य (रिपोर्ट)


Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement