यस्ता छन् दाहाल नेतृत्वको मन्त्रिपरिषद्का सदस्य (रिपोर्ट)

चैत्र १७, २०७९ |अञ्जना लामिछाने
यस्ता छन् दाहाल नेतृत्वको मन्त्रिपरिषद्का सदस्य (रिपोर्ट)

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथसँगै आजै आ-आफ्नो मन्त्रालयमा पुगेर पदबहाली गरेका छन् । उनीहरुले अब नागरिकले प्रत्यक्ष अनुभूति गर्न खालका काम तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्‌मा चारजना महिला सदस्य छन् ।

सुरुमा चारजना उपप्रधानमन्त्री बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत जुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा बहालवाला उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् भने कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई रक्षा मन्त्रालयको जिम्मेवारीसहित पहिलो वरीयताको उपप्रधानमन्त्री बनाएका छन् । कांग्रेस उपसभापति खड्का शेरबहादुर देउवाका विश्वास पात्र हुन् । सुर्खेत-१ बाट प्रतिनिधिसभामा निर्वाचित खड्कासँग यसअघि गृह, सञ्चार, उद्योग र खेलकुद मन्त्रालय चलाएको अनुभव छ ।

माओवादी उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसअघि परराष्ट्र, भौतिक पूर्वाधारलगायतका मन्त्रालय सम्हालिसकेका छन् । गत पुसमै गृह मन्त्रालय रोजेका श्रेष्ठ, रवि लामिछानेका कारण गृहमा जान पाएका थिएनन् ।

नेपाली कांग्रेसका तर्फबाट अर्थमन्त्री बनेका प्रकाशशरण महत समानुपातिक सांसद हुन् । उनले यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालय चलाएको अनुभव छ । मुलुकको अर्थतन्त्र जोखिममा परिरहेका बेला अर्थशास्त्रमा विद्यावारिधि गरेका महत अर्थमन्त्री बनेका हुन् ।

नवनियुक्त मन्त्रीद्वारा पदभार ग्रहणसँगै नागरिकको जीवनस्तर सुधारको प्रतिबद्धता

दाहालको मन्त्रिपरिषद्‌मा अर्का पुराना नेता अशोक राई पनि सहभागी छन् । जसपा नेता राई मनमोहन अधिकारी नेतृत्वको ९ महिने एमाले सरकारमा मन्त्री भएका थिए । सुनसरी १ बाट निर्वाचित राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा पाएका छन् ।

एकीकृत समाजवादीबाट मन्त्री बनेका वेदुराम भुसाल र प्रकाश ज्वाला पनि पुराना नेता हुन् ।

पञ्चायतकालदेखि अहिलेसम्म १२औं पटक मन्त्री बनेका शरतसिंह भण्डारी लोसपाका नेता हुन् । उनलाई प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

बाबुराम भट्टराईको कोटाबाट महिला तथा बालबालिकामन्त्री बनेका महिन्द्र राय यादव पनि यसअघि चारपटक मन्त्री बनिसकेका छन् ।

ऊर्जामन्त्री बनेका जाजरकोटका माओवादी सांसद शक्तिबहादुर बस्नेत प्रधानमन्त्री दाहालनिकट नेता हुन् । पर्साबाट निर्वाचित कांग्रेसका रमेश रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । तेह्रथुमबाट निर्वाचित पूर्वराज्यमन्त्री सीता गुरुङ पनि मन्त्रीका रुपमा नयाँ हुन् ।

कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ पहिलोपटक मन्त्री बनेकी हुन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement