मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री दाहाल

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद–२०७९ लाई सम्बोधन गरे । सम्बोधनकै क्रममा उनले भने, ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु ।’

खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमै पुगेर उनीहरूको मनोबल बढाउने र खेल क्षेत्रसँग सम्बन्धित विषयहरू आफूले महत्त्व दिने गरेको उनले बताए । प्रधानमन्त्री दाहालले नेपाललाई विश्वकै ‘स्पोर्टस हब’ का रूपमा विकास गर्न सकिने धारणा राखे । खेल क्षेत्रका लागि नेपालमा सबै किसिमको वातावरण भएको दाहालको तर्क थियो ।

नेपालमा हिमालमा खेलिने खेलदेखि पहाड र तराईसम्मका खेलका लागि उपयुक्त वातावरण भएको भन्दै त्यसका लागि पूर्वाधार निर्माण गरेमा नेपाल संसारकै उत्कृष्ट खेलको हब हुनसक्ने उनको दाबी थियो ।

खेल क्षेत्रका लागि संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको तर त्यसअनुसार संघीय ऐनहरू बन्न नसकेको भन्दै छिटोभन्दा छिटो संघीय ऐनहरूलाई पूर्णता दिनेसमेत प्रधानमन्त्री दाहालले बताए ।

उनले खेलकुद क्षेत्रमा फड्को मार्नका लागि प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्नेमा जोड दिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.