कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै आइतबार बिहान १० बजेका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

आइतबारको बैठकले बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर २ बाट पार्टीले उठाउने उम्मेदवारबारे टुंगो लगाउने जनाइएको छ।

उक्त बैठकमा उपस्थितिका लागि समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरिएको छ ।

यसअघि बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन र तनहुँको उम्मेदवार चयन गरेको थियो ।

बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बिहीबारको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको जानकारी दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.