सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि प्रमुख दलहरूकै मतभेद

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि प्रमुख दलहरूकै मतभेद

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनका लागि सरकारले संसद्मा पेस गरेको विधेयकमाथि प्रमुख दलहरूकै मत बाझिएको छ । 

सत्ता गठबन्धनका दलहरू जतिसक्दो छिटो विधेयक पारित गर्ने तयारीमा लाग्दा प्रमुख प्रतिपक्षी एमाले भने यथा अवस्थामा विधेयक पारित हुन नसक्ने अडानमा छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा विचाराधीन छ ।

सदनमै फरक फरक मत राखेका दलहरूले सदनबाहिर पनि आफ्नो अडान दोहोर्‍याएका छन् । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र सत्तारोहणको तयारीमा रहेको कांग्रेस कुनै पनि बहानामा यसलाई लम्ब्याउन नहुने पक्षमा छन् । 

विधेयकले पीडितको माग सम्बोधन गर्ने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने सत्ता पक्षीय दलहरूको दाबी छ । तर, नेकपा एमालेले भने विधेयकले पीडकलाई उन्मुक्ति दिने र पीडितलाई थप पीडा दिने आरोप लगाएको छ । विधेयकलाई लिएर उसले सरकारको नियतमाथि पनि शङ्का व्यक्त गरेको छ । 

विधेयकका बारेमा प्रमुख दलहरू नै विभाजित हुँदा मानव अधिकारसँग सम्बन्धित संस्थाहरूले पनि विधेयकका केही प्रावधान सच्याउन माग गरेका छन् । अधिकारकर्मीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गम्भीर मानव अधिकार उल्लंघनको परिभाषा, क्षमादान, फौजदारी जबाफदेहिता लगायत विषयमा रहेका त्रुटि सच्याउन माग गरेका हुन् ।

२०६३ मंसिर ५ मा सरकार र तत्कालीन विद्रोही माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा २ वर्षभित्र शान्ति प्रक्रियाका सबै काम पूरा गर्ने भनिए पनि दलहरुबीच सहमति हुन नसक्दा सङ्क्रमणकालीन न्यायका कतिपय काम अझै बाँकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.