दोस्रो पटक विश्वासको मत लिँदै दाहाल, कांग्रेससहित मन्त्रिपरिषद् विस्तारको तयारी

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
दोस्रो पटक विश्वासको मत लिँदै दाहाल, कांग्रेससहित मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि दाहालले पुन: विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई समर्थन गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

आइतबार बिहान बसेको कार्यसम्पादन समिति बैठकको निर्णय कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको हो । यस्तै गठबन्धन दलका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि दाहाललाई विश्वासको मत दिने निर्णय गरेका छन् । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री दाहालले संसद बैठकपछि बाहिरिने क्रममा आफूले शतप्रतिशत विश्वासको मत पाउने प्रतिक्रिया दिएका छन् ।

शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री दाहाल

पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आइतबारबाट सत्तापक्षको बेञ्चमा बसेको छ। राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १३ र नेकपा एमालेले फागुन १५ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालले सोमबार पुनः विश्वासको मत लिन लागेका हुन् । दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीसहित १० दलले समर्थन गरेका छन् ।

विश्वासको मत लिन सोमबार १ बजेको कार्यसूची संसद सचिवालयले राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.