काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगीक र सामुदायिक क्याम्पसहरूमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ ।
देशभरका क्याम्पसमा शान्तिपूर्ण रुपमा निर्वाचन भएको र प्रारम्भिक सूचनाअनुसार ६० प्रतिशत मतदान भएको त्रिविका शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन केन्द्रीय समितिका अध्यक्ष शिवलाल भुसालले जानकारी दिए ।
उनका अनुसार आज ४७ वटा आंगीक र २५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको हो । १४ वर्षपछि भएको निर्वाचनमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको शिक्षाध्यक्ष भुसालले बताए ।
मतदान सकिएका क्याम्पसमा आजै साँझबाट मतगणना सुरु गरिने त्रिविले जनाएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि ढिला सुरु भएका र विवादका कारण अवरुद्ध भएका केही क्याम्पसमा भने तोकिएको समयपछि पनि मतदान जारी थियो ।
काठमाडौं उपत्यकाका २२ मध्ये ७ क्याम्पसमा भने आज निर्वाचन हुन सकेन । यस्तै, पोखराका ४ र चितवनका ३ क्याम्पसमा पनि विवाद कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ । स्थगित भएका क्याम्पसमा चाँडै चुनावी प्रक्रिया अघि बढाइने त्रिविले जनाएको छ । यस्तै, नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा पनि निर्वाचन स्थगित भएको छ ।