सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विधेयकमा पार्टीबीच सहमति भइसकेको छ : माधव नेपाल

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विधेयकमा पार्टीबीच सहमति भइसकेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बीचमा सहमति भइसकेको जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले विधेयकका सम्बन्धमा विभिन्न पार्टीबीचमा सहमति भइसकेको दाबी गरे । सत्तारुढ दलबीच यस विधेयकको सम्बन्धमा सहमति भइसकेको उनको भनाइ छ । प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको नेपालले दाबी गरे ।

‘त्यस्तो मलाई लाग्दैन असन्तुष्टि होला भनेर । किनभने सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकबारे धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ । विभिन्न पार्टीबीच सहमति पनि भइसकेको छ । अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरुको पनि । मलाई लाग्छ, प्रतिपक्षी पार्टीहरुको पनि त्यसमा विमति रहेको अवस्था छैन,’ अध्यक्ष नेपालले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने धारणा राखे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.