स्ववियु निर्वाचन : बुढीनन्दा क्याम्पसमा २७ राउन्ड हवाई फायर

चैत्र ५, २०७९ |प्रेम रौले
स्ववियु निर्वाचन : बुढीनन्दा क्याम्पसमा २७ राउन्ड हवाई फायर

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका २, कोल्टीमा रहेको बुढीनन्दा क्याम्पसमा आइतबारबाट हवाई फायर भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ढुंगा प्रहार हुन थालेपछि प्रहरीले नियन्त्रणमा लिन २७ राउन्ड हवाई फायर गरेको हो ।

इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक सुरजबहादुर सिंहका अनुसार स्ववियु निर्वाचन बिथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताले एकतर्फी रुपमा ढुंगा प्रहार गरेका थिए । स्ववियुको निर्वाचनमा विद्यार्थीहरु मतदान गरिरहेको अवस्थामा बजारबाट एमालेका कार्यकर्ताले निर्वाचन भइरहेको क्याम्पसमा ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रण गर्न हवाई फायर गर्नु परेको सिंहको भनाइ छ ।

निर्वाचनमा ढुंगा हान्नेलाई भगाउन अश्रुग्यास पनि प्रहार गरिएको छ । हवाई फायरपछि स्थिति नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक सिंहको भनाइ छ । ढुंगा प्रहारपछि आधा घण्टा मतदान स्थगित भए पनि पुन: नियमित भएको सिंहले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पर्ने बुढीनन्दा क्याम्पसमा तीन दलीय भातृ संगठन नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एस उम्मेदवार र नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा छ ।

-प्रतीकात्मक तस्बिर


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।