समर्थन कायम राख्दै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
समर्थन कायम राख्दै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

माओवादी कांग्रेस नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । आजको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको सांसद सोबिता गौतमले जानकारी दिइन् । सरकारलाई दिएको समर्थनलाई कायमै राख्ने र विश्वासको मत दिने निर्णय भएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचनमा नयाँ समीकरण बनेपछि सरकारबाट बाहिरिएका एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि अप्रत्यासित रुपमा राजनीतिक परिस्थिति परिवर्तन हुँदा एमाले, राप्रपा, रास्वपालगायतका दलको समर्थनमा पुस १० गते दाहाल प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेपछि पुस २६ गते उनले संसदबाट विश्वासको मत लिएका थिए । त्यसबेला प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएको थियो । कांग्रेसलेसमेत समर्थन गरेपछि दाहालले संसदबाट असाधारण बहुमत प्राप्त गरेका थिए ।

सरकारलाई दिएको समर्थन कायम राख्ने र विश्वासको मत दिने निर्णय गरेपनि रास्वपाले फेरि सरकारमा सहभागी हुने विषयमा भने निर्णय गरेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.