सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, प्रधानमन्त्रीलाई विश्वासको मत दिने

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आईतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय पनि गरेको जानकारी दिए ।

‘चैत्र ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भन्नुभएको छ, उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । त्यही किसिमको निर्देशन कार्यसम्पादन समितिले संसदीय दललाई गर्नेछ । उनले भने, संविधानको रक्षा, संवर्द्धन, बृहत्तर देशको विकास, समृद्धि र स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित हामी सरकारमा सहभागी हुँदैछौँ । नेपाली कांग्रेस पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको छ । साथै आज बस्ने संसद बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने प्रवक्ता महतले जनाए ।

प्रवक्ता महतले बैठकमा कसको नितृत्वमा कांग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय नभइसकेको स्पष्ट पारे । उनले कांग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताए । नेतृत्वले सुझाव सल्लाह लिएर कसको नेतृत्वमा सरकारमा जाने भन्ने निर्णय गर्नेछ । मन्त्रिपरिषद्‌मा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर जाने निर्णय भएको छ ।’ उनले भने ।

प्रवक्ता महतले संसदीय दलको बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल हुने पनि बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.