कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेलगायतका विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन र संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

शनिबार बसेको पदाधिकारी बैठकले भोलि (आइतबार) केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकार विस्तारको विषयमा छलफल भएको तर निर्णय नभएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान १० : ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिएका छन् । बैठकसम्बन्धमा उनले जारी गरेको सूचनामा समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।  यस्तै मध्याह्न १२ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । साथै विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने उनको मनस्थिति छ ।

नेपाली कांग्रेससँगको नयाँ राजनीतिक समीकरण बनेपछि एमाले-माओवादी गठबन्धन दुई महिनामै टुटेको थियो । एमाले, राप्रपा, रास्वपा सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतका दल सरकारमा सहभागी हुने तयारीमा छन् ।   


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement