काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न भएको छ । अपराह्न ३ बजेसम्म तोकिएको निर्धारित समयमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचनमा कुल मतदाता ८८२ रहेकामा ८२९ मत खसेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । संघीय संसदका कुल ३३२ मतदाता रहेकामा ३११ मत खसेको छ भने प्रदेशतर्फ कुल ५५० मध्ये ५१८ मत खसेको छ ।
प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभा ५९ सहित संघीय संसदतर्फका ३३४ सांसद रहेका एक निलम्बित र एकको पद खारेज भएकाले दुई सांसद घटाएर कुल ३३२ मतदाता रहेका थिए । निलम्बनमा परेका सांसद टेकबहादुर गुरुङ र सांसद पद खारेज भएका रवि लामिछाने मतदानमा सहभागी हुन नपाएका हुन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान बहिस्कार गरेको छ । राप्रपाका १४ सांसद मतदानमा सहभागी भएनन् । एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि मतदानमा तटस्थ बसेको छ ।
त्यसबाहेक राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलसहित ६ जनाले मतदानमा सहभागिता जनाएनन् । यसमध्ये जसपाका सांसद शहनाज रहमानको मृत्यु भएको छ। अन्य सांसद भने बिरामी भएका कारण मतदानमा सहभागी भएनन् । बिरामी भएका कारण मतदानमा सहभागी नहुनेहरुमा एमालेका लक्ष्मी महतो, नेपाली कांग्रेसका चन्द्र भण्डारी, माओवादीका वर्षमान पुन र कांग्रेसका मनोरमा शेरचन छन् ।