राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणनाकै आधारमा कायम हुने

फाल्गुन ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणनाकै आधारमा कायम हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा कायम गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात् सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जनकारी दिएका हुन् । उनले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनको अनुसूची १ मा उल्लेख भए बमोजिमको मतभारलाई आधार मानी निर्वाचन सम्पन्न गराउने स्पष्ट पारे । 

निर्वाचन सम्बन्धी कानुनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था छ । तर २०७८ सालको जनगणनापछिको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले २०६८ कै जनगणनालाई आधार मान्नुपरेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।

उनले फागुन २५ गते हुने राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएकोसमेत जानकारी दिए । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थपलियाले बताए ।

निर्वाचन कार्यक्रम अनुसार आयोगले (आज) सोमबारै मतदाताहरूको नामावली अन्तिम रूप दिई निर्वाचन अधिकृतको कार्यालयमा पठाउने बताउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'जम्मा हाम्रा मतदाता ८८४ जना हो । ५५० जना प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फ संसद् सचिवालयबाट प्राप्त विवरण अनुसार एउटा पद रिक्त रहेको चितवन २ र दुईवटा पदहरू निलम्बित रहेको भन्ने आयोगलाई विवरण प्राप्त भएको छ ।' उनले कानुन बमोजिम त्यसको विश्लेषण गरेर आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने स्पष्ट पारे ।

दाबी विरोध लगायतका प्रक्रियाहरू पूरा गर्नको निम्ति भने १० गतेदेखि प्रक्रिया हुने छ । त्यस्तै १३ गते मनोनयनको लागि आयोगले मिति तोकेको छ । निर्वाचन २५ गतेको बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ । थपलियाकाअनुसार २५ गते दिउँसो ३ बजे सम्ममा मतदान सम्पन्न भई ४ बजेदेखि मतगणना गरिने र साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी छ ।

निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यो पनि...

यस्तो छ राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.