पुष्पकमल दाहालको सचिवालयबाट गंगा दाहालको राजीनामा

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुष्पकमल दाहालको सचिवालयबाट गंगा दाहालको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहालले सचिवालयको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

उहाँले आफूविरूद्ध फैलिरहेका भ्रामक समाचार र प्रचारप्रति ध्यानाकर्षण सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको बताउनुभएको हो । दाहालले साेमबार प्रेस विज्ञप्तिमार्फत आफूले भाइ प्रकाश दाहालको निधनपछिको अवस्थामा आमाको हेरचाह र सचिवालयको जिम्मेवारी निर्वाह गर्दै पार्टी र अध्यक्षलाई सहयोग गरेको स्पष्ट पार्नुभएको हो ।

उहाँले आफूले सधैं निस्वार्थ भावमा रहेर काम गरेको र कहिल्यै व्यक्तिगत लाभका लागि कदम चाल्ने प्रयास नगरेको दाबी गर्नुभएको छ । ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक दाहाल र समग्र पार्टीविरूद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु,’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ ।

उहाँले साथीभाइले जन्मदिनमा दिएका उपहारलाई लिएर समेत भ्रामक प्रचार भइरहेको गुनासो गर्दै भन्नुभएको छ– ‘कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरूपयोग गरिरहेका छन् । कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’

उहाँले पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.