यस्तो छ राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका

माघ १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
यस्तो छ राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ ।

आयोगमै सोमबार पत्रकार सम्मेलनमार्फत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमै हुने जानकारी दिए । ‘आयोगले मतदान केन्द्र सात प्रदेशमा लैजान खोजेको थियो तर ऐनमा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रणमा रहेर निर्वाचन गराउनुपर्ने गणना गर्नुपर्ने भएकाले केन्द्रमा नै मतदान केन्द्र रहन्छ ।’

राष्ट्रपतिको चुनाव फागुन २५ गते, उपराष्ट्रपतिको चैत ३

उनका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, विरोध, उजुरीलगायत काम १० र ११ गते, निवेदन तथा उजुरीमाथि छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका छ । आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गतेलाई तय गरेको छ । त्यस्तै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारविरुद्ध उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।

त्यस्तै उपराष्ट्रपतिको निर्वाचन फागुन ३ गते हुने भएको छ । प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्नेलगायत कामलाई राष्ट्रपतिकै काम गरेकोबाट निरन्तरता दिने जानकारी दिए । उनका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै रहेको छ । त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ ।

उनले भने, ‘उपराष्ट्रपतिको हकमा मतदाता नामावली प्रकाशित गर्ने कामलगायत कामलाई राष्ट्रपतिकै कामलाई गरेकोबाट निरन्तरता दिइन्छ । मनोनयनपत्र दर्ता गर्न, फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशित गर्ने सोही दिन २७ गते नै, उम्मेदवारको बिरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ मै, उम्मेदवारको नाम फिर्ता लिने पनि २८ मै, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने २८ गते नै, मतदान गर्ने चैत ३ गते ।’

उनले आयोगले संविधानको स्पिरिटलाई समातेर पाँच वर्षको अवधि नघट्ने गरी तादम्यता मिलाउन आयोग लागेको जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदै छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.