सयपत्री फूलको मूल्य गत वर्षको तुलनामा दोब्बर

कार्तिक ३, २०८२ |सुशीला पाठक
सयपत्री फूलको मूल्य गत वर्षको तुलनामा दोब्बर

विराटनगर । तिहारमा फूलको धेरै प्रयोग हुन्छ । 

यो बेला विराटनगरलगायत कोशी प्रदेशमा सयपत्री फूलको मूल्य अत्यधिक बढेको छ । विगतका वर्षहरूमा सस्तो मूल्यमा बिक्री हुँदै आएको सयपत्री फूल यसवर्ष भने दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । लगातारको वर्षाका कारण स्थानीय फूल खेतबारीमै कुहिएको र भारतबाट आउने फूलमा भन्सार कार्यालय विराटनगरले रोक लगाएपछि अहिले महँगो मूल्यमा फूल किन्न सर्वसाधारण बाध्य छन् ।

गत वर्षहरूमा राम्रो आम्दानी गर्दे आएका फूल कृषकहरू यसपालि भने बाढी फूलखेतीमा पसेपछि फूलका बोट मरेर घाटा लागेको बताउँछन् । विराटनगर महानगरपालिका-६ केसलिया खोला नजिक करिब ८ बिघा जग्गा भाडामा लिएर १० वर्षदेखि फूलखेती गर्दे आउनु भएका रतन जना सयपत्री, गुलाब, रजनीगन्धालगायतका विभिन्न प्रकारका फूल उत्पादन गर्दे आउनु भएको थियो । 

गतवर्ष लगानी काटेर सयपत्री फूलबाट मात्र डेढ लाख रूपैयाँको आम्दानी गरेकाले यसपाली भने ७० हजार बोट सयपत्री फूल राेपेका थिए । बाढी फूलबारीमा पसेर फूलका बोट मरेपछि उहाँलाई पाँच लाख रूपैयाँ घाटा भएको छ । अहिले बजारमा फूलको प्रर्याप्ततामा कमी आएका कारण गत वर्षहरूमा ४० रूपैयाँमा पाउने सयपत्री फूलको माला यस वर्ष भने एकसय रूपैयाँदेखि डेढसय पुगेकाले महँगोमा फूलको माला किन्नु परेको उपभोक्ताको भनाइ छ ।

लगातारको वर्षाका कारण फूलखेतीमा बाढी पसेकाले उत्पादनमा कमी आएको र भारतबाट पनि फूल आयातमा रोक लगाएकाले फूलको मूल्य आकाशिएको व्यापारीहरू बताउँछन् । सरकारले फूल व्यवसायलाई प्राथमिकतामा नराख्नु र व्यवस्थीत फूल खेती हुन नसक्दा फूलको मूल्य बढेको पाइन्छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।