काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते लुटिएका हतियारको दुरूपयोग नगर्न भन्दै राजनीतिक दलहरूलाई गरेको आह्वानप्रति आपत्ति जनाउनुभएको छ।
सरकारले निर्वाचनको वातावरण बनाउनका लागि सुरक्षा व्यवस्था बलियो बनाउनुपर्नेमा गृहमन्त्री अर्यालले दिएको अभिव्यक्तिले दलहरूलाई चिढ्याउने काम गरेको बताउनुभयो। आफूहरू निर्वाचनमा जान तयार रहेको र आफ्नै पहलमा संवाद गर्न पनि तयार रहेको भन्दै महामन्त्री थापाले गृहमन्त्री अर्यालको अभिव्यक्ति अपरिपक्व भएको टिप्पणी गर्नुभयो।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै महामन्त्री थापाले २३ र २४ गते भएको आन्दोलन र आन्दोलनको आवरणमा भएका अपराधिक गतिविधिलाई फरक तरिकाले विश्लेषण गर्नुपर्ने तर्क गर्नुभयो।
२३ युवाहरूको आन्दोलनमा सरकारी स्तरबाट भएको दमनको छानबिन र दोषीउपर कारबाहीका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनेकोमा त्यसलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउन सहयोग गर्न आफूहरू तयार रहेको थापाको भनाइ थियो। छानबिनलाई प्रभावित बनाउन नेपाली कांग्रेसले कुनै गतिविधि नगर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो।
सोमबार राति कान्तिपुर टिभीमा प्रसारण हुने कार्यक्रम 'फायरसाइड'मा महामन्त्री थापाले निर्वाचनका लागि आफ्नो दलले तयारी सुरू गरिसकेको र नयाँ नेतृत्वका साथमा निर्वाचनको सामना गर्ने दृढता व्यक्त गर्नुभयो। मंसिरभित्र जसरी पनि नियमित महाधिवेशन सम्पन्न गर्न सम्भव भएको दाबी गरेका थापाले पार्टीको जारी बैठकले त्यसबारे निर्णय गर्ने बताउनुभयो।
थापासँगको पूरा अन्तर्वार्ता सोमबार राति ९ बजे प्रशारण हुने कार्यक्रम 'फायरसाइड'मा हेर्न सकिनेछ।