काठमाडौं । इंग्ल्यान्डले न्यूजिल्यान्डविरूद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा ६५ रनको शानदार जित हासिल गर्दै तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ ।
क्राइस्टचर्चको हेग्ली ओभलमा भएको खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २३६ रनको विशाल स्कोर बनायो । यो स्कोर उक्त मैदानमा टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्चतम हो । इंग्ल्यान्डका ओपनर फिल साल्टले ५६ बलमा ८५ रनको शानदार पारी खेल।
कप्तान ह्यारी ब्रुक झनै आक्रामक देखिए, उनले ३५ बलमा ७८ रन बनाए । ब्रुक र साल्टबीच १२९ रनको विस्फोटक साझेदारी बन्यो, जसले पारीको लयलाई उचाइमा पुर्यायो । अन्त्यतिर टम ब्यान्टनले १२ बलमा २९ रन जोड्दै इंग्ल्यान्डको स्कोरलाई थप मजबुत बनाए ।
जवाफमा न्यूजिल्यान्डले २३७ रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभरमै १७१ रनमा अलआउट भयो । टिम सिर्फटले ३९ रन बनाए भने बाँकी ब्याट्सम्यानहरू टिक्न सकेनन् । इंग्ल्यान्डको बलिङ शानदार रह्यो । आदिल रसिदले ४ ओभरमा ३२ रन दिँदै ४ विकेट लिए। लुक वुडले २ विकेट लिए ।
यो जितसँगै इंग्ल्यान्डले शृंखलामा अग्रता लिएको छ र अब तेस्रो तथा अन्तिम खेल अकल्यान्डमा बिहीबार हुनेछ, जसमा उनीहरूले जिते शृंखला आफ्नो पक्षमा पार्ने छन् ।