लुम्बनी । माघ २५ गते हुने लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि माघ ११ गते (भोलि) उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै सत्तारुढ दल नेकपा एमाले र विपक्षी नेपाली कांग्रेस उम्मेदवारी टुंगो लगाउन अन्तिम कसरतमा लागेका छन् ।
साथै उम्मेदवारी मनोनयनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा उपनिर्वाचन हुन लागेको हो ।
एमालेले कुमार दशौंदीलाई राष्ट्रियसभा उम्मेदवार बनाउने तयारी गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने दाङका वीरकेशरी गौतम, बर्दियाका अरुणप्रकाश राठौर र रोल्पाका माधवप्रसाद आचार्यको नाम केन्द्रमा सिफारिस गरेको छ । यसै सिफारिसको आधारमा एकजना उम्मेदवार बन्न कांग्रेसले जनाएको छ ।
१ सिटका लागि हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनमा १ सय ९ पालिकाका २१८ जना प्रमुख, उपप्रमूख र लुम्बिनी प्रदेश सभाका ८७ जना प्रदेससभा सदस्य गरी ३०५ जना मतदाता छन् ।