प्रधानमन्त्री दाहालले भने- दुईजना तामाङलाई मन्त्री बनाउँछु

माघ ८, २०७९ |किरण अधिकारी|विनोद कोजू
प्रधानमन्त्री दाहालले भने- दुईजना तामाङलाई मन्त्री बनाउँछु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुईजना तामाङलाई मन्त्री बनाउने घोषणा गरेका छन् ।

२८५९औं राष्ट्रिय सोनाम ल्होसारको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले अबको केही दिनमै एकीकृत माओवादी केन्द्रका तर्फबाट एक महिला र एक पुरुष गरी दुई जना तामाङ समुदायकालाई मन्त्री बनाउने घोषणा गरे ।

प्रधानमन्त्री दाहालले उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाइँ गरेको दाबी गरे । नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले नेपालमा सबै जातिको स्थान बराबर भएकाले नेपाल टेलिभिजनबाट यही माघ १५ गतेबाट तामाङ भाषामा समाचार प्रसारण हुने जानकारी दिँदै बजेट निकास गरिसकेको उल्लेख गरे ।

उनले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेकोले यहाँको संस्कृति र सभ्यता विश्वभर वैभवशाली सहित सोनाम ल्होसार विदेशीले समेत मनाउने गरेकामा खुसी व्यक्त गरे । तर उनले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख व्यक्त गरे । विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको दाबी गरे । उनले अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवर्द्धन हुन नदिने कुचेष्टा भइरहेको दाबी पनि गरे ।

उनले अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाइँ जारी रहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताए । ‘विगतमा एकातिर सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चल्यो भने आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवर्द्धन हुन नदिने चेष्ठा भइरहेको छ,’ उनले भने, ‘हामी एकातिर सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाइँ जारी छ भने वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि नयाँ परिस्थितिमा छौँ । त्यसकारण हामीले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, हाम्रा ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व हामी सबैको काँधमा छ ।’

प्रधानमन्त्री दाहालले आजदेखि सुरु भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होसार पर्व २८५९ ह्योई-तावर ल्हो (बिरालो वर्ष) का अवसरमा देश-विदेशमा रहेका सबै ल्होसारप्रेमीलाई सु-स्वास्थ्य, समृद्धि, प्रगतिको शुभकामना दिएका छन् ।


Image

किरण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement