काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपरान्ह बस्दै छ । आजको बैठकमा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गर्ने तयारी छ ।
आज अपराह्न सवा तीन बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले निजामती विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । विधेयकमा मिल्न बाँकी विषय आजै टुंग्याउने र राष्ट्रिय सभामा पेस गर्ने तयारी गरिएको हो । विधेयकमा कर्मचारीको अवकाशको उमेर हद लागु गर्ने विषयबाहेक अन्य अधिकांश विषयमा सहमति जुटिसकेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची तय भएको छ। त्यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुनेछ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, आजै दुई संसदीय समितिको बैठक बस्दैछन्।