सरकारी सेवाप्रवाह चुस्तदुरुस्त बनाउन कर्मचारीलाई मुख्य सचिव अर्यालकाे निर्देशन

भाद्र १६, २०८२ |दीपेन्द्र शाक्य
सरकारी सेवाप्रवाह चुस्तदुरुस्त बनाउन कर्मचारीलाई मुख्य सचिव अर्यालकाे निर्देशन

संखुवासभा । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सरकारी सेवाप्रवाह चुस्तदुरूस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएकाे छ। 

“जनतालाई ढिला नगरी सर्वसुलभ सेवा दिनुपर्छ, जनताले गुनासो गर्ने मौका दिनुहुँदैन,” भन्दै उहाँले सरकारी कार्यालयमा देखिने ढिलासुस्तीको प्रवृत्ति अन्त्य गर्न जोड दिनुभयाे।

सोमबार संखुवासभामा आयोजित “नागरिक सन्तुष्टि र सुशासन प्रवर्द्धनमा सार्वजनिक निकायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले कर्मचारीलाई सेवा ढिलाइ गरेर जनतालाई दुःख दिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयाे । 

उहाँले सार्वजनिक सेवाप्रवाह प्रभावकारी बनाउन कानुन निर्माणको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै एकै प्रकृतिका कार्यालयहरूलाई गाभेर एकीकृत गर्ने तयारी भइरहेको जानकारी दिनुभयाे । साथै भारत र चीन जोड्ने छोटो नाका किमाथांकालाई चलायमान बनाउनुपर्नेमा विशेष जोड दिँदै उहाँले संखुवासभा अन्य जिल्लाभन्दा बढी समृद्ध र पर्यटकीय सम्भावना भएको बताउनुभयाे ।

अर्यालले प्रधानमन्त्रीको चीन भ्रमणमा समेत उत्तरी नाकाका विषयमा छलफल भएको स्मरण गर्दै योगमाया विश्वविद्यालयलाई सञ्चालन गरेर आयुर्वेद क्षेत्रमा नेपाललाई चिनाउन सकिने बताउनुभयाे।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले किमाथांका नाकालाई नेपाल, चीन र भारतलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वारको रूपमा लिँदै यसको सम्भावनामा विश्वास व्यक्त गर्नुभयाे । 


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।